वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सरकारी सेवामा देखिँदै आएको बिचौलिया गतिविधि नियन्त्रण गर्न कडा चेतावनी दिएको छ। सरकारी कार्यालय वरपर बिचौलिया देखिए कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ।
आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत प्रशासनले जिल्लाभित्रका सबै सरकारी कार्यालयहरूलाई बिचौलिया मुक्त सेवा सुनिश्चित गर्न निर्देशन दिएको हो। साथै सेवाग्राहीलाई छिटो, सरल, सहज र पारदर्शी रूपमा सेवा उपलब्ध गराउन पनि सबै कार्यालयलाई आग्रह गरिएको छ।
प्रशासकीय अधिकृत रेखा कुमारीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरू हाल नियमित तथा सहज रूपमा सञ्चालन भइरहेका छन्। उनले कार्यालय परिसरभित्र मात्र नभई कार्यालय वरपर पनि बिचौलिया गतिविधि देखिए तत्काल कडा कारबाही गरिने स्पष्ट पारेकी छन्।
उनले बिचौलियाहरूले सेवाग्राहीलाई सहयोग तथा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने प्रवृत्ति रोक्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। यस किसिमका गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस कार्यालय तथा जिल्लास्थित कुनै पनि सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग वा सहजीकरणको नाममा गैरकानुनी रूपमा रकम असुल्ने जो कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ।”
प्रशासनको यस कदमले जिल्लामा सरकारी सेवामा देखिएको बिचौलियाको प्रवृत्ति नियन्त्रण हुने तथा सेवाग्राहीले प्रत्यक्ष र सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।








