सौराहामा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

 

वीरगंज / चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ।

महाधिवेशनको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको एक सशक्त स्तम्भ भएको उल्लेख गर्दै जोखिमपूर्ण अवस्थामासमेत सत्य र यथार्थ चित्रण गरेर समाजलाई सूचित गराउने महत्वपूर्ण भूमिका फोटो पत्रकारहरूले निर्वाह गरिरहेको बताए। राज्यले फोटो पत्रकारहरूको सुरक्षा, पेशागत सम्मान तथा क्षमता अभिवृद्धिका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। “तस्बिरले बोलेको सत्य कहिल्यै ओझेल पर्दैन,” भन्दै उनले फोटो पत्रकारहरूको योगदानको उच्च मूल्यांकन हुनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा उनले स्वयं क्यामेरा समातेर तस्बिर खिच्दै सम्मान प्रकट गरेका थिए।

कार्यक्रमका क्रममा फोटो पत्रकारितामा देखिएका चुनौती, डिजिटल प्रविधिको बढ्दो प्रभाव तथा नयाँ पुस्तालाई यस पेशातर्फ आकर्षित गर्ने उपायबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए। प्रविधिसँगै पत्रकारिताको स्वरूप परिवर्तन हुँदै गएको सन्दर्भमा सीप, सृजनशीलता र नैतिकतालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो।

महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई निर्वाचित भएका छन् भने महासचिवमा भरत ढकाल चयन भएका छन्।

सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन्। कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा अमर बानियाँ, राहुल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे चयन भएका छन्।

यसै क्रममा वीरगंजका युवा पत्रकार राहुल कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्, जुन मधेस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

महाधिवेशनको समापनसँगै सहभागीहरूले पेशागत एकता अझ मजबुत बनाउँदै फोटो पत्रकारिताको स्तर उकास्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले फोटो पत्रकारहरूको अधिकार संरक्षण, क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित