श्री हनुमान जन्मोत्सवमा वीरगंजमा विशाल शोभा यात्रा हुने, ३० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा

 

वीरगंज/२० चैत

विश्व हिन्दू परिषद् नेपाल वीरगंजद्वारा प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री हनुमान जन्मोत्सवको पावन अवसरमा भव्य शोभा यात्रा आयोजना गरिने भएको छ। परिषद्ले उक्त धार्मिक कार्यक्रमलाई विगतका वर्षभन्दा अझ व्यवस्थित र भव्य बनाउने तयारी गरेको जनाएको छ।

कार्यक्रमअनुसार शोभा यात्रा वीरगंजको घण्टाघरबाट दिउँसो २ बजे सुरु हुनेछ। यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल, गहवा हुँदै पुनः घण्टाघरसम्म पुगेर समापन गरिनेछ।

यस ऐतिहासिक धार्मिक यात्रामा वीरगंज महानगरपालिकाका हरेक वडाबाट सहभागीता रहने र करिब ३० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिने परिषद्ले जनाएको छ।

शोभा यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरिसकिएको छ। साथै जिल्लामा रहेका विभिन्न हिन्दू संघसंस्था तथा धार्मिक संस्थाहरूको समेत सहकार्य रहने बताइएको छ।

गर्मी मौसमलाई मध्यनजर गर्दै यात्राका विभिन्न स्थानमा खानेपानीको व्यवस्था गरिनेछ, जसले सहभागी भक्तजनलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

परिषद्का सचिव दीपेन्द्र सरार्फले यस पावन अवसरमा आयोजना हुने कार्यक्रमलाई व्यापक रूपमा प्रचारप्रसार गरी आम नागरिकसम्म जानकारी पुर्‍याउन सञ्चारमाध्यमसँग सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित