आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

 

काठमाडौं:

देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगत वर्षझैं देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सबै तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु गरिएको छ।

यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थीले परीक्षा दिँदै छन्। सहभागी हुनेमध्ये छात्राको संख्या बढी रहेको छ। यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी रहेका छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य गणित, चैत २३ गते विज्ञान तथा प्रविधि, चैत २४ गते सामाजिक अध्ययन, चैत २५ गते ऐच्छिक प्रथम खण्डका विषय, चैत २६ गते ऐच्छिक द्वितीय खण्डका विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने तालिका रहेको छ। परीक्षा चैत २९ गते सम्पन्न हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि एसईईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने व्यवस्था गरेको छ। देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् भने माध्यमिक तह अध्यापन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन्। परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी तथा अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।

यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने योजना बनाइएको छ। परीक्षणपछि ‘मार्कस्लिप प्रिन्ट’ गरी ट्याबमा अभिलेख राखेर सिलबन्दी खाममा सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

परीक्षा केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकालाई तोकिएको ढाँचामा प्याकेट बनाई लगत खडा गरी राख्नेछ। त्यसपछि सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाइनेछ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ अनुसार परीक्षा समाप्त हुने समयमा नै तोकिएका परीक्षक परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ। उत्तरपुस्तिका परीक्षण गर्दा सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र सम्परीक्षकको व्यवस्था गरिनेछ। नतिजा प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ।

परीक्षक र सम्परीक्षकले परीक्षण केन्द्रमै बसेर उत्तरपुस्तिका परीक्षण गर्नुपर्नेछ। सम्भव भएसम्म परीक्षण केन्द्र रहेको विद्यालय भवनको सिसिटिभी जडित सुरक्षित कक्षमा परीक्षण र सम्परीक्षण गराइनेछ। उत्तरपुस्तिका बाहिर लैजाने, अन्य व्यक्तिबाट परीक्षण गराउने, योग्यता नपुगेका शिक्षकबाट परीक्षण गराउने तथा उत्तरपुस्तिका हराउने वा मिसिने जस्ता अनियमितता रोक्न कडा प्रबन्ध गरिएको बोर्डले जनाएको छ।

निर्देशिकाअनुसार परीक्षक र सम्परीक्षकले परीक्षण कक्षमा मोबाइल लगायतका विद्युतीय उपकरण लैजान पाउने छैनन्। परीक्षाकै दिन उत्तरपुस्तिका परीक्षक र सम्परीक्षकलाई बुझाइनेछ। परीक्षणमा लापरबाही गरेको पाइएमा पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउनेसम्मका कारबाही गरिनेछ। अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनअनुसार विभागीय कारबाहीसमेत हुने जनाइएको छ।

यस वर्ष एसईई परीक्षामा सामूहिक अनुगमनमा समेत रोक लगाइएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

परीक्षालाई पारदर्शी, व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाउँदै नतिजा छिट्टै प्रकाशन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित