आर्थिक रूपान्तरणतर्फ नेपाल : ‘आर्थिक क्रान्तिका लागि माहोल तयार’– डा. सुबोध गुप्ता

 

राहुल गुप्ता/वीरगंज

नेपालको आर्थिक विकासको दिशा र गति पुनः राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। राजनीतिक स्थायित्वतर्फको क्रमिक यात्रा, पूर्वाधार विस्तार र निजी क्षेत्रको बढ्दो सक्रियताबीच मुलुक आर्थिक रूपान्तरणतर्फ अघि बढ्ने संकेत देखिन थालेका छन्। यही सन्दर्भमा उद्यमी डा. सुबोध कुमार गुप्ताले नेपालमा अब “आर्थिक क्रान्ति” सम्भव भएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनमा वस्तुगत सदस्यतर्फ कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

गुप्ताका अनुसार नेपाल अब सम्भावनाको चर्चा गर्ने चरणबाट व्यवहारिक कार्यान्वयनतर्फ प्रवेश गरिसकेको छ। लामो समयदेखि राजनीतिक संक्रमण, नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणको अभावका कारण अर्थतन्त्र प्रभावित भए पनि पछिल्ला वर्षहरूमा सुधारका संकेतहरू देखिन थालेका छन्।

उनले सडक, ऊर्जा र शहरी पूर्वाधारमा भएको विस्तार, सूचना प्रविधिप्रति युवाको आकर्षण, पर्यटन क्षेत्रको पुनरुत्थान, जलविद्युत निर्यातको सम्भावना र बैंकिङ पहुँचको विस्तारलाई आर्थिक रूपान्तरणका नयाँ अवसरका रूपमा व्याख्या गरेका छन्। “अब चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने समय आएको छ,” उनले भने।

आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। उत्पादनमूलक उद्योगमा लगानी वृद्धि, आयातमा निर्भरता घटाउने, निर्यात प्रवर्द्धन गर्ने तथा साना–मझौला उद्योगलाई सशक्त बनाउने नीति आवश्यक रहेको उनले औँल्याए। सरकार र निजी क्षेत्रबीच सहकार्य (पीपीपी मोडल) लाई दीर्घकालीन विकासको आधार मान्दै उनले नीति निर्माण सरकारको जिम्मेवारी भए पनि कार्यान्वयनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए।

गुप्ताले आफ्नो उम्मेदवारीलाई “आर्थिक परिवर्तनको अभियान” का रूपमा प्रस्तुत गरेका छन्। उनका प्रमुख एजेन्डामा उद्योगमैत्री नीति कार्यान्वयन, निर्यातमुखी अर्थतन्त्रको विकास, युवा उद्यमशीलता प्रवर्द्धन, डिजिटल अर्थतन्त्रमा लगानी तथा संस्थाबीच समन्वय रहेका छन्। एफएनसीसीआईलाई व्यवसायीहरूको मात्र संस्था नभई आर्थिक नीति निर्माणमा प्रभाव पार्ने सशक्त प्लेटफर्म बनाउनुपर्ने उनको धारणा छ।

व्यावसायिक क्षेत्रमा लामो अनुभव भएका गुप्ता मोहित ग्रुपका अध्यक्ष हुन्। मोहित एग्रो इन्डस्ट्रिज, मोहित पल्सेस, मोहित फूड प्रोडक्ट्स र मोहित ग्रीन फिल्ड्समार्फत उनले औद्योगिक विस्तार गर्दै हजारौँलाई रोजगारी उपलब्ध गराएका छन्।

सामाजिक क्षेत्रमा पनि उनले योगदान पुर्‍याएका छन्। पोखरिया अस्पतालमा ३५ बेडको आइसियु कक्ष तथा नारायणी अस्पतालमा ३५ बेडको पिआइसियु कक्ष निर्माणमा सहयोग गरेका छन्। कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै वीरगञ्ज उद्योग वाणिज्य संघको सभा हल निर्माणमा पनि उनले योगदान दिएका छन्। यस योगदानका लागि उनलाई ‘प्रवल जनसेवा श्री पदक’ सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त भइसकेका छन्।

शिक्षा क्षेत्रमा पनि सक्रिय गुप्ता ठाकुरराम क्याम्पसको व्यवस्थापन समितिमा आबद्ध छन्। उनी नेपाल चामल, दाल तथा तेल उद्योग संघका निवर्तमान अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा मधेस विश्वविद्यालयका सिनेट सदस्यसमेत रहिसकेका छन्। हाल उनी महासंघको कार्यकारिणी सदस्य तथा व्यापार समितिको सभापतिका रूपमा कार्यरत छन्।

व्यवसायी समुदायले गुप्ताको “आर्थिक क्रान्ति” अवधारणालाई सकारात्मक रूपमा लिएको छ। यद्यपि, आर्थिक विश्लेषकहरूले यसको सफल कार्यान्वयनका लागि नीतिगत स्थिरता, पारदर्शी प्रशासन, लगानीमैत्री वातावरण र दीर्घकालीन योजना अपरिहार्य हुने बताएका छन्।

नेपाल अहिले पुरानै ढाँचामा अघि बढ्ने कि नयाँ सोचसहित आर्थिक रूपान्तरण गर्ने भन्ने निर्णायक मोडमा पुगेको छ। प्राकृतिक स्रोत, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय बजार पहुँचको प्रभावकारी उपयोग गर्न सके मुलुकले उल्लेखनीय आर्थिक प्रगति गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित