वीरगंज/ १३ चैत
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा आजकै दिन भगवान् विष्णुको सातौँ अवतार श्रीरामको जन्म भएको विश्वास गरिन्छ। श्रीरामले राक्षसी प्रवृत्तिको अन्त्य गरी धर्म, सत्य र न्यायमा आधारित लोककल्याणकारी रामराज्य स्थापना गर्नुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार रामनवमी पर्व मनाउनुको मुख्य उद्देश्य भगवान् रामजस्तै मर्यादित, अनुशासित र आदर्श जीवन अपनाउने प्रेरणा प्राप्त गर्नु हो। श्रीरामलाई मर्यादा पुरुषोत्तमका रूपमा सम्मान गरिन्छ।
शास्त्रीय मान्यताअनुसार आजका दिन व्रत बसी भगवान् रामचन्द्रको पूजा, जप र ध्यान गर्नाले मनले चिताएको कार्य सफल हुने तथा सुख–समृद्धि प्राप्त हुने विश्वास छ। परम्पराअनुसार चैत्र शुक्ल अष्टमीका दिन अष्ट मातृकाको पूजा गरी नवमीमा श्रीरामको विशेष आराधना गरिन्छ।
रामनवमीको अवसरमा नेपालका विभिन्न राम मन्दिरहरूमा विशेष पूजा–आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेषगरी जनकपुर र अयोध्यामा भव्य रूपमा रामलीला प्रदर्शन हुने परम्परा रहेको छ।
धार्मिक मतअनुसार परापूर्वकालमा वासन्तीय नवरात्र अर्थात् चैते दसैँलाई नै मुख्य दसैँ मानिने गरिन्थ्यो। तर गर्मीका कारण पछि असोज महिनामा ठूलो दसैँ मनाउन थालिएको मान्यता छ। चैत र असोजका नवरात्रलाई ‘जाग्रत दसैँ’ का रूपमा पनि लिने गरिन्छ।








