अभिलाष गुप्ता
वीरगंज, १३ चैत्र
मधेश प्रदेशको प्रसिद्ध धार्मिक स्थल श्री गहवा माई मन्दिर प्राङ्गणमा आज रामनवमीको पावन अवसरमा विशेष महाआरती कार्यक्रम आयोजना हुने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै भक्तजनलाई भव्य सहभागिताका लागि आग्रह गरेको छ।

मन्दिरको मुख्य प्रवेशद्वार अगाडि आयोजना हुने यस आध्यात्मिक कार्यक्रम आज साँझ ६:३० बजेदेखि सुरु हुने समितिले जनाएको छ। समितिका अनुसार महाआरतीले वीरगंजको धार्मिक तथा सांस्कृतिक महत्वलाई अझ उजागर गर्ने विश्वास गरिएको छ।

यस अवसरमा समितिका सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता) र विशेष अनुरोधकर्ता डा. पुरुषोत्तम दुवे ले संयुक्त रूपमा सञ्चारकर्मी तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएको छ। साथै, कार्यक्रमको समाचार सम्प्रेषण र प्रचार–प्रसारमा सहयोग गर्न सञ्चारकर्मीहरूलाई पनि विशेष आग्रह गरिएको छ।
समितिले भक्तजनहरूको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइसकेको जनाएको छ। सबैको सक्रिय सहभागिताले कार्यक्रम अझ भव्य र सफल बन्ने विश्वास लिइएको छ।








