हरिकिशोर शर्मा / चैत ९ जिराभवानी पर्सा
जिराभवानी गाउँपालिका मा कुटपिटका कारण एक वृद्ध महिलाको मृत्यु भएको घटना सार्वजनिक भएको छ।जिराभवानी गाउँपालिका–१, पिपरा टोल निवासी स्वर्गीय सुरेश श्रीवास्तवकी श्रीमती करिब ५५ वर्षीया सायदा श्रीवास्तवको आफ्नै बुहारीको कुटपिटबाट आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी २६ वर्षीया बुहारी पिंकी देवी र उनका मामा पक्षकी १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो।
स्थानीयका अनुसार मृतक सायदा र उनकी बुहारी पिंकीबीच लामो समयदेखि विवाद तथा झैझगडा हुँदै आएको थियो।मृतक सायदाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।








