वीरगंज भन्सारबाट श्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ

 

हरिकिशोर शर्मा / चैत ६ जिराभवानी पर्सा

 

वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् ।

 

भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई सशस्त्र प्रहरीले वीरगंज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलको सिटकभर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारु ६ सय रुपैयाँ बरामद भएको हो ।

 

बरामद भएको उक्त रकमको तुराहाले श्रोत खेलाउन नसकेपछि रकम र मोटरसाइकलसहित तुराहालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

 

अवैध रकम र मोटरसाइकलसहित पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगंज भन्सार कार्यालयमा बुझाइएको निरौलाले बताए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित