गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन, एलपी ग्यास अभावबीच जनतालाई राहत हुने अपेक्षा

 

हरिकिशोर शर्मा / चैत ३ जिराभवानी पर्सा

 

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘स्वच्छ चुल्हो’ प्रवर्द्धन कार्यक्रमप्रति स्थानीय जनस्तरबाट व्यापक प्रशंसा व्यक्त गरिएको छ। गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको सक्रिय नेतृत्व तथा समन्वयमा अघि बढाइएको यस कार्यक्रमलाई जनमुखी, प्रभावकारी र दूरदर्शी कदमका रूपमा हेरिएको छ।

 

एलपी ग्यासको अभाव र निरन्तर मूल्यवृद्धिका कारण दैनिक जीवन प्रभावित भइरहेका बेला गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याएको हो। कार्यक्रमअन्तर्गत विद्युतिय चुल्हो, सुधारिएको चुल्हो तथा बायोग्यास जस्ता प्रविधिहरू अनुदानमा उपलब्ध गराउने योजना अघि बढाइएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमले वातावरण संरक्षणसँगै सस्तो, सुरक्षित र सहज खाना पकाउने विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

 

 

स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो समय ग्यास अभावले उत्पन्न समस्यालाई सम्बोधन गर्न यो कार्यक्रम अत्यन्त प्रभावकारी हुने देखिएको छ। विशेषगरी महिला, दलित, जनजाति तथा न्यून आय भएका परिवारलाई प्राथमिकतामा राखिएकोले सामाजिक समावेशिता र समान पहुँच सुनिश्चित गर्ने दिशामा पनि यो महत्वपूर्ण पहल भएको उनीहरूको भनाइ छ।

 

गाउँपालिका अध्यक्ष चौधरीले एलपी ग्यासको अभावलाई ध्यानमा राख्दै वैकल्पिक ऊर्जा प्रयोग विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताउँदै यसले आम नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत मेहताले कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन उपभोक्ता विवरण संकलन कार्य सुरु भइसकेको र छिट्टै वितरण प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

 

स्थानीयवासीले गाउँपालिकाको योजनाबद्ध विकास दृष्टिकोण, दिगोपन र सेवा प्रवाहप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यो कार्यक्रमले केवल ऊर्जा समस्या समाधान मात्र होइन, वातावरण संरक्षण, आर्थिक बचत र जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

गाउँपालिकाले आगामी दिनमा यस्ता जनमुखी, दिगो तथा वातावरणमैत्री कार्यक्रमलाई अझ विस्तार गर्दै ग्रामीण जीवनस्तर सुधारमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

 

स्थानीय बासिन्दाहरूले अध्यक्ष चौधरीको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत मेहताको कार्यान्वयन क्षमताको खुलेर प्रशंसा गर्दै यस कार्यक्रमले विशेषगरी महिला, दलित, जनजाति तथा न्यून आय भएका परिवारको जीवनस्तर उकास्ने बताएका छन्। जनताको आवश्यकता पहिचान गरी प्रभावकारी रूपमा कार्यक्रम अघि बढाइएको यो पहललाई दिगो विकास र सुशासनको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित