राहुल गुप्ता /वीरगंज
सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत वीरगंज भन्सार क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीले कार्यभार सम्हालेको छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। उनले जिम्मेवारी सम्हालेको करिब दुई महिनाको अवधिमै करिब १ करोड १० लाख रुपैयाँ बराबरका विभिन्न बिल–बिजक तथा अवैध रूपमा ओसारपसार गरिएका सामानहरू बरामद गर्न सफल भएका छन्। यस उपलब्धिले सीमा क्षेत्रमा तस्करी नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा उल्लेखनीय प्रभाव परेको सरोकारवालाहरू बताउँछन्।
वीरगंज भन्सार मधेस प्रदेश मात्र नभई समग्र मुलुककै प्रमुख व्यापारिक तथा आवागमनको प्रवेशद्वारका रूपमा परिचित छ। भारतसँग जोडिएको खुला सीमाका कारण तस्करी, अवैध सामान ओसारपसार, लागूऔषध कारोबार, मानव तस्करी तथा अन्य सीमापार अपराधको जोखिम उच्च रहँदै आएको छ। यस्ता चुनौतीबीच सुरक्षा निकायका लागि सीमाको प्रभावकारी निगरानी र नियन्त्रण सधैं जटिल जिम्मेवारी रहँदै आएको छ। यस्तो संवेदनशील नाकामा डिएसपी विकास अधिकारीको सक्रियता र कडाइले सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्न थालेको स्थानीयहरूले बताएका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार डिएसपी अधिकारीले हाजिर भएको छोटो अवधिमै सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाएका छन्। नियमित चेकजाँच, गस्ती तथा सूचनाको प्रभावकारी प्रयोगमार्फत उनले अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेका छन्। परिणामस्वरूप विभिन्न किसिमका बिल–बिजक तथा भन्सार छलि गरिएका सामानहरू नियन्त्रणमा लिई राज्यको राजस्व संरक्षणमा समेत महत्वपूर्ण योगदान पुगेको बताइएको छ।
डिएसपी विकास अधिकारीले आफ्नो कार्यकालमा कानून कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राख्दै सीमा सुरक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय हित र जनताको सुरक्षालाई केन्द्रमा राखेर सीमा क्षेत्रमा हुने तस्करी, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको टोलीलाई सक्रिय रूपमा परिचालन गरिएको उनले बताएका छन्। देशको सुरक्षा, कानूनको पालना र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु नै आफ्नो कर्तव्य भएको उल्लेख गर्दै उनले मातृभूमिको हितका लागि कुनै पनि चुनौतीसँग डटेर सामना गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।
सीमा सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिने बिरगंज नाकामा नयाँ नेतृत्वसँगै सुरक्षा व्यवस्थापन अझ सुदृढ हुने अपेक्षा गरिएको छ। तस्करी तथा सीमापार अपराध नियन्त्रणमा प्रभावकारी रणनीति अपनाउँदै शान्ति सुरक्षा कायम गर्न डिएसपी विकास अधिकारीको भूमिका आगामी दिनमा अझ निर्णायक हुने स्थानीयहरूको विश्वास रहेको छ।








