हरिकिशोर शर्मा / चैत्र १ जिराभवानी पर्सा ।
पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि टेकबहादुर शाक्यले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै उनले अभियानका क्रममा भएको सम्पूर्ण खर्च विवरण खुलासा गरेका हुन् । शाक्यका प्रतिनिधि रामाकान्त चौधरीका अनुसार निर्वाचन अभियान सञ्चालनका लागि कुल रु ११,७२,३००/- खर्च भएको छ ।
सार्वजनिक विवरणअनुसार खर्च यस प्रकार रहेको छ: सवारी साधन भाडा रु २५५,०००/-, मतदाता प्रशिक्षण रु ४००,५०५/-, नमुना मतपत्र छपाई तथा स्टिकर रु ३,६०,८००/-, कार्यालय सञ्चालन रु ६०,७००/-, गोष्टि तथा अन्तरक्रियामा खाजा/नास्ता रु ८५,३००/-, र मनोनयन पत्र दर्ता शुल्क रु १०,०००/-।
चौधरीले स्पष्ट पारेअनुसार विभिन्न शीर्षकमा गरिएको खर्चको कुल जम्मा रु ११,७२,३००/- पुगेको हो । यसमा विभिन्न स्थानमा स्थानीयहरूले स्वस्फूर्त रूपमा खाजा/नास्ता तथा अन्य सहयोगहरू समावेश गरिएको छैन ।
स्थानीय सरोकारवालाहरूले निर्वाचनपछि शाक्यले खर्च सार्वजनिक गर्नु लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने कदम भएको बताएका छन् । चुनावी खर्च पारदर्शी रूपमा सार्वजनिक गर्नुले जनप्रतिनिधिप्रति नागरिकको विश्वास अझ बढ्ने अपेक्षा गरिएको छ ।








