लागुऔषध नियन्त्रणबारे प्रहरीद्वारा विद्यालयमा जनचेतना कार्यक्रम

 

हरिकिशोर शर्मा / फागुन ३०, जिराभवानी (पर्सा)

 

पर्साको कालिकामाइ गाउँपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। “लागुऔषधविरुद्धको अभियान” भन्ने मूल नाराका साथ विद्यालयस्तरमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

 

कालिकामाइ युवा समाज र इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा कालिकामाइ गाउँपालिका वडा नं. १ स्थित श्री जनता माध्यमिक विद्यालय, मुडलीमा कार्यक्रम सम्पन्न भएको हो। कालिकामाइ युवा समाजका अध्यक्ष आकाश चौरसियाको अगुवाइमा आयोजित कार्यक्रममा कक्षा ६, ७, ८, ९, १० र १२ मा अध्ययनरत करिब १५० जना छात्र–छात्रालाई पावरपोइन्ट प्रोजेक्टरको माध्यमबाट लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

 

कार्यक्रमका क्रममा इलाका प्रहरी कार्यालय पोखरियाले लागुऔषधविरुद्ध जनचेतनामूलक हातेपुस्तिका समेत वितरण गरेको थियो।

 

खुला सीमाना भएका कारण कालिकामाइ क्षेत्रका केही युवाहरू भारतबाट ल्याइने फेन्सिडिल, फेनार्गन, कोरेक्स, डाइजोपाम लगायतका लागुऔषधको सेवनतर्फ आकर्षित हुने गरेको बताइएको छ। पर्सा जिल्लामा लागुऔषध सेवन गर्ने अधिकांश १० देखि १९ वर्ष उमेर समूहका युवाहरू रहेको तथ्याङ्कले देखाएको छ।

 

जिल्ला कारागार पर्साका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये ठूलो संख्या लागुऔषध सम्बन्धी मुद्दामा सजाय भोगिरहेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित