डा. पुरुषोतम दुबे माईस्थान उपसमितिको सदस्यमा मनोनयन

 

अभिलाष गुप्ता

वीरगंज, २९ फागुन

वीरगंजस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री गहवा माईस्थान मन्दिरमा आयोजना हुन लागेको वृहत रक्तदान कार्यक्रम र तेस्रो डोली यात्रालाई सफल बनाउन माईस्थान सञ्चालक समितिले उपसमितिमा नयाँ सदस्य मनोनयन गरेको छ। समितिले समाजसेवी तथा बृहस्पति फाउण्डेशन नेपालका अध्यक्ष डा. पुरुषोतम दुबे (वीरगंज–६, पर्सा) लाई उपसमितिको सदस्यमा मनोनयन गरेको हो।

माईस्थान सञ्चालक समितिद्वारा जारी आधिकारिक पत्रअनुसार डा. दुबे सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएको, समाजसेवा तथा धार्मिक कार्यप्रतिको समर्पण र अनुभवलाई मध्यनजर गर्दै उपसमितिमा समेटिएको जनाइएको छ। समितिले उहाँको सहभागिताले कार्यक्रमहरूको व्यवस्थापन, समन्वय र सञ्चालनलाई अझ व्यवस्थित, अनुशासित तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

धार्मिक आस्था र सामाजिक सेवाको संगमका रूपमा हेरिँदै आएका यी कार्यक्रमहरू सफल बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको समितिको भनाइ छ। यसका लागि गठन गरिएको उपसमितिको भूमिका महत्वपूर्ण रहने पनि समितिले जनाएको छ।

समितिका अध्यक्ष नरेन्द्र कुमार शाह तथा महासचिव विजय कुमार उपाध्यायको हस्ताक्षरसहित जारी पत्रमा डा. दुबेबाट कार्यक्रम सफल बनाउन सक्रिय भूमिका र सहयोगको अपेक्षा गरिएको उल्लेख छ। साथै उहाँको मनोनयनले स्थानीय तहमा सामाजिक सहभागिता तथा जिम्मेवारीबोधलाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

कार्यक्रम अन्तर्गत श्री गहवा माईस्थान मन्दिरको आयोजनामा वृहत रक्तदान कार्यक्रम २०८२ साल चैत ११ गते बुधबार बिहान ७ बजेदेखि सञ्चालन हुने जनाइएको छ। त्यसैगरी धार्मिक, सांस्कृतिक तथा आस्थासँग जोडिएको श्री गहवा माईस्थानको तेस्रो डोली यात्रा २०८२ साल चैत १२ गते बिहीबार बेलुका ४ बजे भव्य रूपमा सम्पन्न गरिने कार्यक्रम रहेको छ।

यी कार्यक्रममार्फत सामाजिक सद्भाव, मानव सेवा तथा धार्मिक चेतनालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। माईस्थान सञ्चालक समितिले समाजसेवी, भक्तजन तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित