आदर्शनगर रंगशालामा मारवाडी प्रिमियर लिग–३ को भव्य उद्घाटन

 

वीरगंज, २९ फागुन।

वीरगंजको आदर्शनगर रंगशालामा “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताको शुक्रबार भव्य रूपमा उद्घाटन गरिएको छ। मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्।

ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख सिंह सहभागी भएका थिए।

कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठक, राजु कार्की, बिक्रम सुवेदी, कमल चौगाईलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फागुन २९ गते (१३ मार्च २०२६) देखि सुरु भई वीरगंजकै आदर्शनगर रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १० वटा टोली सहभागी हुनेछन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।

उद्घाटनपछि सम्पन्न पहिलो खेलमा एभरेस्ट ब्लेजिङ हक्स र दि फग फाइटर कैलाशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा दि फग फाइटर कैलाश ३३ रनले विजयी भएको आयोजकले जनाएको छ।

त्यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर र निल गिरि ज्यागुवारबीच सम्पन्न भएको छ। प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने आयोजकले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित