वीरगंज/फागुन २६ गते
भारतको महावाणिज्य दूतावास, वीरगञ्ज (नेपाल) द्वारा दूतावास परिसरभित्र एक भव्य समारोहका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२६ मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको विषय “Give To Gain” रहेको थियो, जसले महिला सशक्तीकरण र समाजमा उनीहरूको योगदानको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा प्रतिष्ठित सामाजिक अभियन्ता, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट वक्ताहरूले दुबै देशका महिलाहरूले हासिल गरेका उपलब्धि र सामना गरेका चुनौतीबारे आफ्ना अनुभव तथा विचार साझा गरेका थिए। कार्यक्रममा चान्दनी एकेडेमी, वीरगंज र शारदा कला केन्द्र, रक्सौलका विद्यार्थीहरूले नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा झल्किने सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

महावाणिज्यदूत श्री देवी सहाय मीनाले आफ्नो सम्बोधनका क्रममा अन्तर्राष्ट्रिय महिला दिवसको महत्वमाथि प्रकाश पार्दै महिलाहरूले दैनिक जीवन तथा राष्ट्रको विकासमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो। उहाँले महिला सशक्तीकरणले दिगो समृद्धि ल्याउने र समग्र समुदायलाई लाभ पुग्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक समानतालाई प्रवर्द्धन गर्नु, महिलाहरूका उपलब्धिहरूको सम्मान गर्नु तथा अझ समावेशी र समानतामूलक समाज निर्माणका लागि सामूहिक पहललाई प्रोत्साहित गर्नु रहेको दूतावासले जनाएको छ।








