पर्सा क्षेत्र नम्बर ४ मा रास्वपा का उम्मेदवार टेक बहादुर शाक्यको शानदार जित

 

 

हरिकिशोर शर्मा / फागुन २४ जिराभवानी पर्सा ।

 

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेक बहादुर शाक्यले शानदार विजय हासिल गरेका छन् ।

 

पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार शाक्यले २८ हजार ६०६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

शाक्यले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई १५ हजार ४७२ मतको फराकिलो अन्तरले पराजित गरे । रिजालले मात्र १२ हजार ४३५ मत प्राप्त गरेका छन् ।

 

पूर्व उद्योग मन्त्री समेत रहेका रिजाल यस क्षेत्रबाट पटक–पटक चुनाव लड्दै आएका अनुभवी नेता हुन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई मन्त्री बनेका थिए ।

 

निर्वाचनमा नेकपा (एमाले) का जालिम मियाँ मन्सुरी तेस्रो स्थान धकेलिएका छन् । पर्साकै जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष मियाँले १२ हजार १४५ मत प्राप्त गरेका छन् । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी काँग्रेसका रिजालसँग पराजित भएका थिए । आजको पराजयले उनको संसद् प्रवेशको दोस्रो प्रयास पनि असफल भएको छ ।

 

चौथो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका डा. कृपासिन्धु चौधरी रहेका छन् । चौधरीले ४ हजार ७५८ मत ल्याएका छन् । निर्वाचन अघि काँग्रेस परित्याग गरी जसपा प्रवेश गरेका चौधरीको प्रयास पनि सफल हुन सकेन ।

 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जयप्रकाश थारुले ३ हजार ११३ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् । थारु यसअघि नेकपा (एमाले) सँग आबद्ध थिए र २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेकै टिकटबाट मधेस प्रदेशको प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । तर, प्रतिनिधिसभा निर्वाचनको केही समय अघि मात्र उनी नेकपामा प्रवेश गरेका थिए ।

 

शाक्यको विजयलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । उनी निर्वाचन घोषणा पछि मात्र रास्वपामा प्रवेश गरेका थिए । त्यसअघि उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग आबद्ध थिए । परिणामले पर्सा क्षेत्रमा नयाँ राजनीतिक गतिशीलता ल्याउने अपेक्षा गरिएको छ । मतगणना प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा कै हरि पन्त, पर्सा – २ मा रास्वपा कै सुशील कुमार कानु निर्वाचित भइसकेका छन् । पर्सा – ३ मा मतगणना जारी रहे पनि रास्वपाका रमाकान्त चौरसिया ठुलो मतान्तर साथ जित नजिक छन् ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित