काठमाडौं। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज देशभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहान ७ बजेदेखि देशव्यापी रूपमा मतदान सुरु भएको र सबै स्थानमा निर्वाध रूपमा प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्। मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्
।
आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमति पत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।
यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलका उम्मेदवारसहित तीन हजार ४०६ जना प्रतिस्पर्धामा छन्। जसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य रहेका छन्। समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यस पटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुनेछन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तोकिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा एक लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएका छन्। निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन्।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी मतदान केन्द्रमा पुर्याइसकेको जनाएको छ। यस निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गरिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले सबै नागरिकलाई उत्साहजनक सहभागितासहित मतदान गर्न आह्वान गरेका छन्।









