निर्वाचन आयोग द्वारा आज मध्यरातिदेखि मौन अवधि लागू, मतदान नसकिएसम्म प्रचारप्रसार निषेध

 

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोग नेपालले जारी गरेको सूचनाअनुसार मौन अवधि सुरु भएसँगै कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका समर्थकले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा चुनावी गतिविधि सञ्चालन गर्न पाउने छैनन् । मतदान प्रक्रिया सम्पन्न नभएसम्म यो व्यवस्था लागू रहनेछ ।

 

निर्वाचनलाई शान्त, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले मौन अवधिको प्रावधान राखिएको आयोगले जनाएको छ । प्रतिस्पर्धी उम्मेदवारबीच अनावश्यक विवाद, झडप वा अप्रिय घटना हुन नदिन तथा मतदातामा त्रास सिर्जना हुन नदिन अन्तर्राष्ट्रिय अभ्यासअनुसार मौन अवधि लागू गरिन्छ।

 

 

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु भएसँगै दल वा उम्मेदवारले प्रयोग गरेका प्रचार सामग्री हटाउनुपर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न, प्रचार सामग्री वितरण गर्न वा चुनावी सन्देश प्रवाह गर्न पाइने छैन ।

 

आयोगका अनुसार मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका झन्डा, ब्यानर, पोस्टरलगायत प्रचार सामग्री सम्बन्धित निकायले हटाउने व्यवस्था मिलाइनेछ । साथै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य सञ्चार माध्यममार्फत उम्मेदवार वा दलको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रसारण गर्नसमेत निषेध गरिएको छ ।

 

यस अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशालालगायत कुनै पनि चुनावसम्बन्धी गतिविधि सञ्चालन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत आयोगले दिएको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित