बिहार/ रक्सौलमा श्रीश्याम फाल्गुन महोत्सवको २१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार श्री श्याम मन्दिर, काली मन्दिर रोडबाट भव्य निशान शोभायात्रा निकालिएको छ। शोभायात्रामा सयौँ महिला तथा पुरुष श्रद्धालुहरूको सहभागिता रहेको थियो। सहरभरि “जय श्री श्याम” र “खाटू नरेश की जय” का जयघोषले वातावरण भक्तिमय बनेको थियो।

मन्दिर परिसरबाट सुरु भएको यात्रा मेन रोड, पोस्ट अफिस रोड, एक्सचेञ्ज रोड र स्टेशन रोड हुँदै नगर परिक्रमा गरी पुनः मन्दिरमै समापन गरिएको थियो। रथमा विराजमान बाबा श्यामको आकर्षक झाँकी श्रद्धालुहरूको मुख्य आकर्षण बनेको थियो। भक्तजनहरूले पहेँलो–केसरिया निशान ध्वज बोकेर भजन–कीर्तनमा नाच्दै–गाउँदै यात्रा अघि बढाएका थिए।

यात्राका क्रममा विभिन्न सामाजिक संघ–संस्था तथा मारवाडी समाजका प्रतिनिधिहरूले अबिर–गुलाल लगाई स्वागत गर्नुका साथै शीतल पेयको व्यवस्था गरेका थिए। युवक–युवतीहरूले राजस्थानी तथा भक्ति गीतमा प्रस्तुति दिँदै होलीको शुभकामना आदान–प्रदान गरेका थिए।
स्थानीय प्रशासनको सुरक्षा तथा यातायात व्यवस्थापनका कारण शोभायात्रा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको थियो। समापनपछि मन्दिर परिसरमा महाप्रसाद वितरण गरिएको थियो।
कार्यक्रम सफल बनाउन मन्दिर समितिका नीरज शर्मा, अनुराधा शर्मा, हेमन्त शर्मा, रामजी शर्मा, धीरज शर्मा, आनन्द रूंगटा, वीणा गोयल, सोनु काबरा, संगीता धानोठिया, मधु शर्मा तथा बबली गुप्तालगायतले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।









