पवन प्रसाद साह
पर्सा, फागुन ५ — बिन्दवासिनी गाउँपालिकामा पर्सा जिल्लाका पत्रकार तथा सरोकारवालाहरूका लागि एकदिने कुष्ठरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
The Leprosy Mission Nepalको सहयोग तथा बिन्दवासिनी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मुरली कृषक स्वयम सहायता समूहका अध्यक्ष रामदेव राउतको अध्यक्षतामा तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपलाल चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा कुष्ठरोगको पहिचान, रोकथाम, उपचार र समुदायमा व्याप्त भ्रम तथा विभेद अन्त्य गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। यसै क्रममा द लेप्रोसी मिसन नेपाल पर्साका जिल्ला सम्पर्क अधिकृत रामहरीले प्रोजेक्टको दृष्टिकोणबाट कुष्ठरोग सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुभएको थियो। उहाँले कुष्ठरोग नियन्त्रणका लागि सञ्चालन भइरहेको परियोजनाका उद्देश्य, कार्यक्षेत्र र उपलब्धिबारे जानकारी दिँदै समुदायस्तरमा सक्रिय खोजपडताल, समयमै पहिचान, नियमित औषधि उपचार (एमडीटी) र प्रभावित व्यक्तिको पुनःस्थापनालाई प्राथमिकतामा राखिएको बताउनुभयो।साथै पर्सा जिल्लामा अहिले कुष्ठरोग उपचारत ३४ जना छन ती मध्ये ३ जना विन्दवासिन गाउँपालिकका रहेका छन।
उहाँले सञ्चारकर्मीहरूले तथ्यमा आधारित समाचार सम्प्रेषण गरेमा समाजमा रहेको भ्रम, डर र विभेद हटाउन महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो। साथै, कुष्ठरोग पूर्ण रूपमा उपचारयोग्य रोग भएकाले लक्षण देखिएमा लुकाएर नराखी स्वास्थ्य संस्थामा जानुपर्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न आग्रह गर्नुभयो। परियोजनामार्फत स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै कुष्ठरोग उन्मूलनतर्फ अग्रसर रहेको पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रमका अध्यक्ष रामदेव राउतले कुष्ठरोगबारे समाजमा अझै पनि विभिन्न भ्रम र डर रहेको उल्लेख गर्दै यस्ता अभिमुखिकरण कार्यक्रमले सही सूचना प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय तह, नागरिक समाज र सञ्चारकर्मीबीच सहकार्य भएमा कुष्ठरोग नियन्त्रण तथा प्रभावित व्यक्तिको पुनःस्थापनामा उल्लेखनीय प्रगति गर्न सकिने धारणा राख्नुभयो।
त्यसैगरी प्रमुख अतिथि तथा स्वास्थ्य शाखा प्रमुख दिपलाल चौरसियाले कुष्ठरोगको वर्तमान अवस्था, गाउँपालिका र जिल्लास्तरको तथ्यांक तथा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार बिन्दवासिनी गाउँपालिकामा विगत वर्षहरूमा केही नयाँ बिरामी पहिचान भएका छन् र उनीहरू नियमित उपचारमा रहेका छन्। पर्सा जिल्लामा पनि कुष्ठरोग नियन्त्रणका लागि सक्रिय खोजपडताल, जनचेतनामूलक कार्यक्रम तथा औषधि आपूर्ति व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
उहाँले कुष्ठरोग पूर्ण रूपमा उपचारयोग्य रोग भएकाले लक्षण देखिएसँगै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो। साथै, गाउँपालिकाले रोग नियन्त्रण तथा प्रभावित व्यक्तिहरूको पुनःस्थापनाका लागि आगामी दिनमा थप सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि, धामिझाँक्रीहरूको सहभागिता रहेको थियो। आयोजकले यस्ता कार्यक्रमले समुदायस्तरमा सचेतना अभिवृद्धि भई कुष्ठरोग उन्मूलन अभियानलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।









