वीरगञ्ज, ४ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ को बगही र इनरवा टोलमा घरदैलो कार्यक्रम गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा सरकार गठन भएमा दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा सहज पहुँच तथा स्थायी रोजगारीको व्यवस्था गर्दै जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखिने विश्वास व्यक्त गरे।
उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै भने, “हिजो मात्रै रास्वपाले जनतासँगको आफ्नो करारपत्र सार्वजनिक गरेको छ। सोही करारअनुसार हामी निर्वाचित भएको पाँच वर्षसम्म प्रतिबद्धतापूर्वक काम गर्नेछौँ। जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्नु हाम्रो लक्ष्य हो।”
कानुले समावेशी विकास र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याए।
घरदैलो कार्यक्रमपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ५८ जना स्थानीय नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। नेकपा (एमाले) का दलित नेता शिसम् महारासहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायतका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गरेका थिए।
नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी रास्वपामा प्रवेश गरेको बताएका छन्। उनीहरूले समावेशी सोच, पारदर्शी राजनीति र जनमुखी एजेन्डा बोकेको रास्वपालाई घण्टी छापमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।









