हरिकिशोर शर्मा / फागुन ३ जिराभवानी पर्सा ।
पर्सा — ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जिराभवानी मन्दिर परिसरमा आइतबारदेखि महाशिवरात्रिको अवसर पारेर परम्पराअनुसार एक सातासम्म मेला सुरु भएको छ। जिराभवानी गाउँपालिका–१ र २ को दोसाँधमा अवस्थित यो मन्दिर क्षेत्रीय आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रमुख केन्द्रका रूपमा परिचित रहँदै आएको छ। हरेक वर्षझै यसपटक पनि स्थानीय तथा छिमेकी क्षेत्रबाट ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। ग्रामीण भेगका थारु समुदायसहित विभिन्न जातजाति र समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्न मन्दिरले महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयहरू बताउँछन्। धार्मिक आस्थासँगै मेला स्थानीय अर्थतन्त्र चलायमान बनाउने प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको छ।
स्थानीय किंवदन्तीअनुसार करिब चार सय वर्षअघि सामान्य मठका रूपमा सुरु भएको यो स्थान विस्तारै ठूलो आस्थास्थलमा रूपान्तरण भएको हो। त्यसबेला सेढवा, महादेवपट्टी, पिपडाढी, परसवा र जीतपुर क्षेत्र घना जंगलले ढाकिएका थिए र मुख्यतः आदिवासी थारु समुदायको बसोबास थियो। कथाअनुसार महादेवपट्टी निवासी बिशुन महतो चमरी खोलामा माछा मार्ने क्रममा पटक–पटक कालो ढुंगा मात्र परेपछि राति सपनामा उक्त ढुंगा शिवलिंग भएको सन्देश पाएका थिए। भोलिपल्ट शिवलिंग फेला परेपछि सानो झोपडी निर्माण गरी पूजा सुरु गरिएको र त्यसैबाट जिराभवानी क्षेत्र धार्मिक केन्द्रका रूपमा विकसित भएको जनविश्वास छ। पछि ‘जिरा’ नामका मिस्त्रीसँग जोडिएको प्रसंगपछि भवानी दुर्गाको स्थापना गरी मन्दिरलाई ‘जिराभवानी माइ’ तथा शिव मन्दिरलाई ‘बाबा बटेश्वर नाथ’ नाम दिइएको स्थानीयहरू बताउँछन्।
महाशिवरात्रिदेखि सुरु हुने मेलामा किसानहरूले आफ्नो मुख्य बाली धानको पहिलो अंश स्वरूप बालाको झोटी चढाउने परम्परा रहिआएको छ। शिवरात्रिपछि करिब दस दिनसम्म चल्ने मेलामा विशेषगरी कृषि औजार र घरेलु सामग्रीको कारोबार अत्यधिक हुने गर्छ। कोदालो, बन्चरो, हसिया, हलोको फाली, हेङ्गा, खुर्पीजस्ता कृषि सामग्री तथा गाग्री, बाल्टिन, कराही, थाल, कुकरजस्ता भाँडाकुँडाको राम्रो व्यापार हुने व्यापारीहरू बताउँछन्। फलफूलतर्फ बयर, भाँडाकुँडातर्फ कराही र कृषि सामग्रीतर्फ कोदालो मेलाका मुख्य आकर्षण मानिन्छन्।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा ठूलो मूल्य बराबरको बगैंचा भए पनि राष्ट्रिय स्तरबाट अपेक्षित संरक्षण नपाएको स्थानीयको गुनासो छ। तथापि स्थानीयवासीको चन्दा संकलनबाट आधा दर्जनभन्दा बढी देवी–देवताको मन्दिर, पर्खाल, विवाह मण्डप, चौतारा तथा प्रतिक्षालय निर्माण भइसकेका छन्। संघीयता लागू भएसँगै संरक्षणमा सुधारका प्रयास अघि बढेको र दुई वर्षअघि वैधानिक रूपमा समिति गठन गरी व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको जनाइएको छ। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै मन्दिर परिसरमा आठ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ।
जिराभवानी मन्दिरकै नामबाट गाउँपालिकाको नामकरण हुनु यसको ऐतिहासिक र सांस्कृतिक महत्वको स्पष्ट प्रमाण मानिन्छ। यस वर्षको महाशिवरात्रि मेलालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन स्थानीय तह, सुरक्षाकर्मी र मेला व्यवस्थापन समितिका अध्यक्ष प्रभु दासले बताएका छ्न ।









