आशिष चाैलागाई / नेपाल अहिले निर्णायक मोडमा उभिएको छ। जेन–जी आन्दोलनले देशमा राजनीतिक चेतना र नयाँ सोचको आशा जगाएको थियो। युवाहरूको सक्रियता, परिवर्तनका नारा र “नयाँ विकल्प” का आवाजले केही समय देशलाई उत्साहित बनायो। तर आन्दोलनपछिको वास्तविकता भने अपेक्षाभन्दा झनै जटिल र चुनौतीपूर्ण देखिएको छ।
राजनीतिक अस्थिरता लगातार बढ्दै गएको छ। नीतिगत स्पष्टता कमजोर छ, जिम्मेवार नेतृत्वको अभावले दीर्घकालीन योजना कार्यान्वयनमा बाधा पुर्याइरहेको छ। विशेषगरी केही नयाँ राजनीतिक दल र व्यक्तिहरूमा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको विषयमा गहिरो बुझाइ र जिम्मेवारीबोधको कमी देखिनु गम्भीर चिन्ताको विषय हो। दुई शक्तिशाली छिमेकी राष्ट्रहरूको बीचमा अवस्थित नेपालमा भूराजनीतिक यथार्थ नबुझी गरिने राजनीति राष्ट्रकै भविष्यका लागि खतरा हो।
नेपालको भूराजनीतिक संवेदनशीलता कहिल्यै कम छैन। सन्तुलित कूटनीति, विवेकपूर्ण निर्णय र स्पष्ट राष्ट्रिय नीति बिना देश सुरक्षित रहन सक्दैन। तर पछिल्लो समय केही राजनीतिक पात्रहरू भावनामा बगेर, लोकप्रियता खोज्दै वा सामाजिक सञ्जालको दबाबमा राष्ट्रहितलाई असर पार्ने अभिव्यक्ति दिन थालेका छन्। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता कमजोर बनाउने खतरा बढाएको छ।
देश चलाउनु खेल होइन। ढुङ्गा बोकेर, सडक अवरुद्ध गरेर, उद्योग बन्द गराएर वा हावादारी भाषणमार्फत राष्ट्र निर्माण हुँदैन। यस्ता गतिविधिहरूले क्षणिक चर्चा त पाउन सक्छन्, तर दीर्घकालमा देशलाई आर्थिक र सामाजिक रूपमा कमजोर मात्र बनाउँछन्।
राजनीतिक अस्थिरता र आन्दोलनको प्रत्यक्ष असर व्यवसाय, उद्योग र कलकारखानामा पनि स्पष्ट देखिन थालेको छ। लगातारका बन्द र अवरोधले उत्पादन घटाएको छ, लगानी रोकिएको छ र रोजगारीको अवसर सीमित भएको छ। हजारौं श्रमिक आफ्नो रोजगारी गुमाउने खतरा मोलेका छन्। जेन–जी आन्दोलन र त्यससँग जोडिएका अवरोधका कारण अत्यावश्यक वस्तु, जस्तै खाना पकाउने ग्यासको आपूर्तिमा समेत समस्या देखिन थालेको छ। यस्तो अवस्थामा दैनिक जीवन, उद्योग, रेष्टुरेन्ट र होटलदेखि स्वास्थ्य संस्थासम्म सबै प्रभावित हुने जोखिम बढेको छ।
सामाजिक सञ्जालको भूमिका अझै संवेदनशील छ। सरकारले सामाजिक सञ्जाल बन्द वा नियन्त्रण गरेपछि जेन–जी पुस्तामा असन्तोष झनै चर्किएको छ। सूचना र अभिव्यक्तिको मुख्य माध्यमलाई सीमित गर्दा आन्दोलन रोकिएको छैन, बरु अविश्वास, आक्रोश र अस्थिरता बढेको छ। यसले देखाउँछ
राजनीतिक नियन्त्रण र दमनले समस्या समाधान हुँदैन; संवाद र नीति नै समाधानको बाटो हुन्।
आजको नेपाल भावनात्मक राजनीति होइन, दूरदृष्टि र जिम्मेवार नेतृत्वको आवश्यकता भएको छ। देशलाई प्रविधिमैत्री विकास, औद्योगिक विस्तार, आत्मनिर्भर अर्थतन्त्र र सुशासनतर्फ लैजान गहिरो समझ र परिपक्व सोच आवश्यक छ। नेपाल प्रयोगशाला होइन। अपरिपक्व राजनीति, आवेगमा आधारित आन्दोलन र जिम्मेवारीविहीन अभिव्यक्तिले देशलाई अझ गहिरो संकटमा पुर्याउन सक्छ।
जेन–जी आन्दोलनले उठाएको चेतनालाई सही दिशामा लैजान सकिएन भने त्यो अवसर संकटमा बदलिन सक्छ। व्यवसाय, उद्योग, आम जनजीवन र राष्ट्रिय हित सबै जोखिममा पर्न थालेका छन्। भूराजनीति बुझ्ने, अर्थतन्त्रलाई प्राथमिकतामा राख्ने र राष्ट्रिय स्वाधीनता जोगाउँदै स्थायित्व र विकास सुनिश्चित गर्न सक्ने परिपक्व राजनीति नै आजको नेपालका लागि अपरिहार्य आवश्यकता हो।









