हरिकिशोर शर्मा / फागुन १ जिराभवानी पर्सा
ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित श्री ज्ञान वाटिका माध्यमिक विद्यालय का ३५ वर्षअघिका पूर्वविद्यार्थीहरूले विद्यालयप्रति आफ्नो दायित्व र आत्मीयता पुनः स्मरण गराउँदै सराहनीय सहयोग प्रदान गरेका छन् ।
वि.सं. २०४७ सालमा सो विद्यालयबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी भएको पहिलो ब्याचमा १३ जना विद्यार्थी सहभागी भएका थिए । ऐतिहासिक उक्त समूहमा लोकनाथ बास्तोला, गणेश पाण्डे, केशव खडका, लिला बहादुर कार्की, तारा खडका, प्रेम श्रेष्ठ, रमेश खडका, पृथ्वी घिमिरे, राजु राई, देवकी लामा, नारायण बस्नेत, विमला सापकोटा तथा स्वर्गीय श्याम देवकोटा रहेका थिए ।

ती पूर्वविद्यार्थीहरू हालै विद्यालय परिसरमा पुनर्मिलन गर्दै आफ्ना बाल्यकालका स्मृतिहरू साटासाट गरेका थिए । बाल्यकालदेखि विद्यालय तहसम्म अध्ययन गरेको शिक्षालय पुनः अवलोकन गर्दै उनीहरूले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक सामग्री सहयोग गरेका हुन् ।
उनीहरूले विद्यालयलाई एक हजार लिटर क्षमताका दुई थान स्टेनलेस स्टिलका पानी ट्यांकी तथा चार थान फोहोर संकलन भाँडा हस्तान्तरण गरेका छन् । उक्त सामग्रीले विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन तथा सरसफाइ प्रवर्द्धनमा टेवा पुग्ने विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय परिवारले पूर्वविद्यार्थीहरूको यस पहललाई प्रेरणादायी कार्यका रूपमा व्याख्या गर्दै सामूहिक सहयोग र समुदायको निरन्तर निगरानीबाट मात्र शैक्षिक संस्थाको दीगो सफलता सम्भव हुने उल्लेख गर्दै सहयोगी मनका धनी पहिलो एसएलसी ब्याचका सम्पूर्ण पूर्वविद्यार्थीहरूप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र नेवार ले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।









