पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार कानुले टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयवासीहरूले “यसपालिको मत परिवर्तनका लागि” भन्ने नारासहित उनलाई समर्थन जनाउँदै यसपटकको निर्वाचनले पर्सा–२ मा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन्।
स्थानीय बुद्धिजीवी तथा ज्येष्ठ नागरिकहरूले क्षेत्रको विकासका लागि इमानदार र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा राख्दै कानुको उम्मेदवारीलाई परिवर्तनको अवसरका रूपमा हेरेका छन्। त्यसैगरी युवा र महिलाहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

उम्मेदवार कानुले पर्सागढी क्षेत्रका मुख्य समस्याहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै पचरुखि टोलसहित विभिन्न स्थानमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार गर्ने योजना अघि सारे। उनले खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल उपलब्ध गराउने व्यवस्था तथा सिंचाइका लागि आवश्यक पानीको सुनिश्चिततामा विशेष पहल गरिने बताए।
त्यसैगरी बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा रोजगारी सिर्जना गर्ने योजना रहेको उनले उल्लेख गरे। निर्वाचित भएसँगै यी आधारभूत समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्दै पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
घरदैलो कार्यक्रमअन्तर्गत उम्मेदवार कानुको टोलीले आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ।









