वीरगंज /२७ माघ
नेपाल र भारतबीचको अटुट सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सीमावर्ती सहर रक्सौलमा आज एक विशिष्ट आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ। पवित्र भूमिमा आयोजित उक्त समारोहमा विश्व ज्योतिष महासंघका एसिया उपसभापति तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले वृन्दावनका प्रख्यात कथावाचक परम पूज्य अनिरुद्ध आचार्य जी महाराजलाई विशेष अभिनन्दन पत्रद्वारा सम्मान गर्नुभएको हो।
उक्त भेटघाटले नेपाल–भारत मैत्रीको सनातन डोरीलाई पुनः पुष्टि गर्दै सनातन धर्मलाई दुई देशबीचको सबैभन्दा बलियो सांस्कृतिक खम्बाको रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्। अभिनन्दन समारोहमा डा. दुबेले आचार्य जी महाराजको त्याग, समर्पण र आध्यात्मिक क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्नुभयो।
अभिनन्दन पत्रमा उल्लेख गरिएअनुसार, आचार्य जी महाराजको मुखारविन्दबाट प्रवाहित हुने श्रीमद्भागवत कथाले समाजमा भट्किएको युवा पुस्तालाई पुनः सनातन संस्कार, नैतिकता र आध्यात्मिक चेतनाको मार्गमा फर्काउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस गरिमामय अवसरमा नेपाल र भारतका श्रद्धालुहरूको तर्फबाट बृहस्पति फाउन्डेसन, नेपालका प्रतिनिधि चन्दन पण्डित तथा हिन्दू जागरण समाज, नेपालका समाजसेवी विजय सर्राफले पनि आचार्य जी महाराजको भव्य स्वागत तथा अभिनन्दन गर्नुभएको थियो।
समस्त राम–कृष्ण प्रेमी भक्तजनहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले सीमा क्षेत्रमा सनातन धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको विश्वास व्यक्त गरिएको छ।









