राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

 

काठमाडौं । राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकमा राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेकी थिइन् ।

सो सभाको २०८२ भदौ १३ गते बसेको बैठकले राष्ट्रियसभाबाट उक्त विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिका पठाएको थियो । समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

समितिका सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते उक्त विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।

पर्यटन विधेयक पारित

त्यसैगरी राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए ।

यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।राष्ट्रियसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

सभार:-सौर्य अनलाइन

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित