वीरगंजमा हरियाली प्रवर्द्धनका लागि रुखमा जनावरका आकृतिसहित वृक्षारोपण अभियान

 

 

वीरगंज, २५ माघ

 

वीरगंजलाई हराभरा, स्वच्छ तथा सुन्दर सहर बनाउने उद्देश्यसहित ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा वीरगंज महानगरपालिकाका हरियाली संयोजक जय प्रकाश खेतानको नेतृत्वमा सम्पन्न भएको हो।

 

कार्यक्रमअन्तर्गत वीरगंजका विभिन्न स्थानमा रुख रोप्नुका साथै रोपिएका रुखहरूमा विभिन्न जनावरका आकर्षक र कलात्मक आकृतिहरू निर्माण गरिएको छ। यस अभियानले सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणप्रति सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको छ। विशेषगरी रुखहरूमा बनाइएका जनावरका आकृतिहरूले बालबालिका तथा स्थानीयवासीको ध्यान आकर्षित गर्दै हरियालीप्रति प्रेम र संरक्षणको भावना विकास गर्ने अपेक्षा गरिएको छ।

 

अभियानबारे बोल्दै अध्यक्ष जय प्रकाश खेतानले तीव्र सहरीकरणका कारण हरियाली घट्दै गएको वर्तमान अवस्थामा वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले यस्ता सिर्जनात्मक र जनमुखी गतिविधिहरूले समुदायस्तरमै वातावरणीय चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, वीरगञ्जलाई स्वच्छ, सुन्दर र हराभरा सहर बनाउने अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

 

स्थानीयवासीहरूले यस किसिमको रचनात्मक तथा प्रेरणादायी पहलको खुलेर प्रशंसा गर्दै भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्। वातावरण संरक्षणसँगै सौन्दर्य अभिवृद्धि र जनचेतना अभिवृद्धिमा यो अभियान उदाहरणीय बनेको सहभागीहरूको धारणा छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित