वीरगंज/ निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। कांग्रेसका उम्मेदवार अनिल रुङटाको जित सुनिश्चित गर्ने उद्देश्यले पर्साका विभिन्न भातृ तथा शुभेच्छुक संगठनहरूको संयुक्त रणनीतिक बैठक सम्पन्न भएको हो।
बैठकमा पार्टीका पूर्व सभापति अजय दिवेदीले अनिल रुङटालाई जनतासँग गहिरो सम्बन्ध राख्ने, विकासमुखी सोच बोकेको र स्वच्छ छविका नेता भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. १ का लागि उनी नै सबैभन्दा उपयुक्त उम्मेदवार भएको दाबी गरे। सहभागी नेताहरूले रुङटाको उम्मेदवारीले कांग्रेस संगठनलाई मात्र होइन, समग्र क्षेत्रको विकास यात्रालाई नयाँ गति दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत पार्टीका वरिष्ठ नेता, सक्रिय कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेताहरूले आ–आफ्ना धारणा राख्दै अनिल रुङटाको नेतृत्वमा क्षेत्र नं. १ लाई राजनीतिक स्थिरता, विकास र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, संगठनलाई अझ सुदृढ बनाउँदै घर–घरमा कांग्रेसका एजेन्डा पुर्याउने अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरिएको छ।
कार्यक्रममा देखिएको नेतृत्वको एकता, कार्यकर्ताको उत्साह र स्थानीय बासिन्दाको सकारात्मक समर्थनले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको चुनावी माहोल थप सशक्त बन्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।









