मधेश प्रदेशस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न,वीरगंजका विद्यार्थी अग्रस्थानमा

 

 

अभिलाष गुप्ता

वीरगंज, २० माघ

Cosmos Educational Training and Research Centre, काठमाडौंको आयोजनामा सम्पन्न “मधेश प्रदेशस्तरीय रङ्गरोगन तथा चित्रकला प्रतियोगिता–२०८२” पहिलो पटक मधेश प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम चरण रौतहट जिल्लाको चापुरमा आयोजना गरिएको थियो।

 

अन्तिम चरणको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका समन्वयक प्रबिन ढुंगाना रहनु भएको थियो भने शिक्षाविद् तथा कला विज्ञ विष्णु सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो।

 

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणमा मधेश प्रदेशका आठ जिल्लाका विभिन्न विद्यालयबाट करिब ४० हजार विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यालयस्तरमै सञ्चालन गरिएको प्रारम्भिक चरणबाट ४,२३५ विद्यार्थी क्वार्टरफाइनलका लागि छनोट भएका थिए। तीमध्ये ७५० विद्यार्थी सेमिफाइनलमा प्रवेश गरेका थिए भने अन्ततः १०५ विद्यार्थी फाइनल चरणका लागि चयन भएका थिए।

 

फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूलाई ट्रफी प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ। नगद पुरस्कारतर्फ प्रथम स्थानलाई रु. २०,०००, द्वितीय स्थानलाई रु. १५,०००, तृतीय स्थानलाई रु. १०,००० तथा चौथो स्थान (सान्त्वना पुरस्कार) लाई रु. ५,००० प्रदान गरिएको थियो।

यस प्रतियोगितामा बारा र पर्सा जिल्लाका ९७ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। मधेश प्रदेशस्तरीय यस प्रतिष्ठित प्रतियोगितामा बिरगंजका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गर्दै अग्रस्थान प्राप्त गरेका छन्।

 

कक्षागत विजेता विद्यार्थीहरू यसप्रकार रहेका छन्:

LKG — चौथो स्थान: श्रृष्टि सर्राफ (डल्फिन एकेडेमी)

UKG — द्वितीय स्थान: आरिज जिन्नत (नेपाल कावेरी एकेडेमी)

कक्षा १ — तृतीय स्थान: आयुष कुमार यादव (सेन्ट जोन स्कुल)

कक्षा २ — प्रथम स्थान: प्रियाल तिवारी (गौतम स्कुल)

कक्षा ३ — चौथो स्थान: विद्या पटेल (साउथजोन स्कुल)

कक्षा ४ — द्वितीय स्थान: अनिशा अख्तर (गुरुकुल एकेडेमी)

कक्षा ५ — प्रथम स्थान: नन्दनी कुमारी मलाह (गौतम स्कुल)

 

आयोजक समितिले यो प्रतियोगिता मधेश प्रदेशमा पहिलो पटक आयोजना गरिएको जानकारी दिँदै यसअघि अन्य प्रदेशहरूमा हस्तलेखन तथा कला प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ। यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा पहिचान तथा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।

 

वीरगंजका विद्यार्थीहरूको यस उल्लेखनीय सफलताले अभिभावक, शिक्षक तथा विद्यालय समुदायमा उत्साह र गर्वको भावना थपिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित