बिबेक जैन
भारत/ उत्तर प्रदेशको आग्रा जिल्लामा शनिबार एक दर्दनाक सडक दुर्घटना भएको छ। खन्दौली थाना क्षेत्रअन्तर्गत नगला चन्दन–जलेसर रोडमा तीव्र गतिमा आएको नियन्त्रणबाहिरको कन्टेनर ट्रकले यात्रु बोकेका दुई वटा अटोमा ठक्कर दिएको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।
जानकारीअनुसार, अटोमा सवार यात्रुहरू जगन्नाथ पुरीको दर्शन गरेर घर फर्किरहेका थिए। त्यही क्रममा कोलकाताबाट सामान बोकेर आइरहेको बडी–बन्द कन्टेनरले उनीहरूलाई ठक्कर दिएको बताइएको छ। ठक्कर यति भीषण थियो कि अटो पूर्ण रूपमा क्षतिग्रस्त भए र घटनास्थलमा त्रास र चिच्याहट फैलियो।
घटनापछि स्थानीय बासिन्दाहरू सहयोगका लागि दौडिए।
आक्रोशित भीडले कन्टेनर चालकलाई नियन्त्रणमा लिएर कुटपिटसमेत गरेको जनाइएको छ। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।
एडिशनल कमिश्नर रामबदन सिंह, अतिरिक्त प्रहरी उपायुक्त आदित्य सिंह, एसीपी देवेश सिंह, एसडीएम सुमित सिंह तथा विधायक डा. धर्मपाल सिंहले घटनास्थलको निरीक्षण गरेका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
मृतक पाँचै जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको मुख्य कारण कन्टेनरको अत्यधिक गति रहेको प्रहरीको निष्कर्ष छ। कन्टेनरलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे विस्तृत अनुसन्धान जारी छ। दुर्घटनापछि मृतकका परिवारजन शोकमा डुबेका छन्।









