वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नेपाली कांग्रेसको बैठक बुथ सभापति सुरेश पटेलको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अजय कुमार चौरसिया प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्री चौरसियाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विकास निर्माणका लागि आवश्यक सबै बजेट विगतमा नै छुट्याइसकेको स्पष्ट पारे। उनले तिलावे खोलामा पुल निर्माण, विन्ध्यवासिनीमा टेक्निकल कलेज स्थापना, वृद्धाश्रम निर्माण तथा विभिन्न बाटोहरूको कालोपत्रे का लागि बजेट सुनिश्चित भइसकेको भए पनि आन्दोलन र राजनीतिक परिस्थितिका कारण काम अघि बढ्न नसकेको बताए।
चौरसियाले निर्वाचन घोषणा भइसकेकाले हाल ती योजनाहरू रोकिएको उल्लेख गर्दै चुनावपछि पुनः बजेट फुकुवा गराई विकास निर्माणका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा–२ को समग्र विकासका लागि आफू सधैं प्रतिबद्ध रहने धारणा राखे।
सोही बैठकमा मधेस प्रदेशका कृषि तथा सहकारी मन्त्री माननीय श्याम पटेल ले कृषकका समस्या समाधानप्रति सरकार गम्भीर रहेको बताए। उनले मधेस प्रदेशका लागि मलखाद अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै कृषकलाई समयमा मूल बिउ र मलखाद उपलब्ध गराउन आफू पूर्ण रूपमा सक्रिय रहेको बताए।
बैठककै क्रममा एमाले पार्टी परित्याग गरी सिंहासन पटेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेशी पटेललाई पूर्व मन्त्री अजय कुमार चौरसिया तथा कृषि मन्त्री श्याम पटेलले गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा क्षेत्रीय सभापति मोहम्मद साहबुदिन, उपसभापति अशोक गुप्ता, पूर्व प्रदेशमन्त्री ओमप्रकाश शर्मा, प्रदीप पटेल, मोहम्मद मियाँ चुरिहार, रिता देवी पासवान, रामानन्द पटेल, स्थानीय समाजसेवी, अगुवा युवा तथा कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसैबीच, बहुदरमाई नगरपालिका अन्तर्गत डकैला बौहरीमा पनि नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा संगठन सुदृढीकरण, चुनावी तयारी र जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनाइएको छ।









