लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव वीरगंजमा भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता

वीरगंज/ १६ माघ

 

वीरगंजको पानी टंकी क्षेत्रमा अवस्थित लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव कार्यक्रम शुक्रबार वीरगञ्जस्थित क्लासिक बंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गर्नुभएको थियो।

 

उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कर्णले बालबालिकालाई पाठ्यक्रममा सीमित शिक्षाभन्दा पनि व्यावहारिक ज्ञान र सीपमा आधारित अध्यापन बढी प्रभावकारी र उपलब्धिमूलक हुने बताउनुभयो। उहाँले प्रारम्भिक तहको शिक्षामा व्यवहारिक सिकाइ, सिर्जनशीलता र जीवनोपयोगी सीपको विकास आवश्यक रहेकोमा जोड दिनुभयो।

 

प्रमुख अतिथि कर्णले लिटल बडी प्रि–स्कुलले स्थापना भएको छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेकोमा बधाई तथा प्रशंसा व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि बालबालिकाको सर्वाङ्गीण विकासका लागि व्यवहारिक ज्ञान, सीप र नैतिक मूल्यमा आधारित शिक्षालाई अझ सशक्त रूपमा अघि बढाउन सुझाव दिनुभयो।

 

लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक तथा प्याब्सनका सचिव अशोक सङ्रौला, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, वीरगंज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अवसरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरूले प्रस्तुत गरेका नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अभिभावक तथा अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। सहभागीहरूले बालबालिकाको प्रस्तुतीको खुलेर प्रशंसा गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित