वीरगञ्ज / पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ का युवाहरूको मनोभाव बुझ्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानु ले आज वीरगञ्ज महानगरपालिका वडा नं. २७ जसौलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा कानुले स्थानीय युवासँग प्रत्यक्ष संवाद गर्दै रोजगारी, शिक्षा, सीप विकास, उद्यमशीलता र सुशासनका विषयलाई प्राथमिकतामा राखेर आफ्ना राजनीतिक एजेन्डा प्रस्तुत गरेका थिए। उनले युवाको सहभागिताबिनाको राजनीति परिवर्तन सम्भव नभएको उल्लेख गर्दै युवालाई नीति निर्माणको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी युवाहरूले बेरोजगारी, वैदेशिक पलायन र अवसरको अभावबारे गुनासा राखेका थिए। ती विषयलाई सम्बोधन गर्दै कानुले पारदर्शी शासन र परिणाममुखी विकासमार्फत युवाको भविष्य सुरक्षित गर्ने बताए।
रास्वपाले पर्सा क्षेत्र नं. २ का विभिन्न वडामा युवाकेन्द्रित जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









