काठमाडौं, माघ १६ गते
लोकतन्त्र स्थापना तथा पुनर्स्थापनाका लागि जीवन उत्सर्ग गर्ने नेपाली अमर शहीदहरूको सम्झनामा आज देशभर राष्ट्रिय शहीद दिवस श्रद्धा, सम्मान र गौरवका साथ मनाइएको छ । राजधानी काठमाडौंको शान्तिवाटिका, रत्नपार्कदेखि लैनचौरस्थित शहीद स्मारकसम्म श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

यसै अवसरमा भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लीफ आर्टिस्ट मधुरेन्द्र कुमारले अनौठो, सृजनात्मक र भावनात्मक कलामार्फत नेपाली शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्नुभएको छ । उहाँले विश्वकै अत्यन्त सानो हरियो पीपलको पातमा सूक्ष्म कलाकृति उकेरि नेपाली अमर शहीदहरूको बलिदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभएको हो ।
करिब पाँच घण्टाको निरन्तर साधनापछि तयार गरिएको उक्त कलाकृतिमा वि.सं. १९९७ सालमा लोकतन्त्रका लागि संघर्ष गर्दै वीरगति प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मृतिलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । कलाकृतिमा नेपालको राष्ट्रिय झण्डासहित “माघ १६ जय नेपाल” र “शहीदहरूलाई सलाम” भन्ने भावनात्मक सन्देश अंकित गरिएको छ ।
उक्त कलाकृतिको तस्वीर सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिँदै व्यापक प्रशंसा बटुलिरहेको छ । पत्रकारहरूसँग कुरा गर्दै कलाकार मधुरेन्द्र कुमारले वि.सं. २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको पहलमा माघ १६ लाई राष्ट्रिय शहीद दिवसका रूपमा मनाउन थालिएको जानकारी दिनुभयो । उहाँले शहीदहरूको त्याग, साहस र राष्ट्रप्रतिको समर्पणलाई सधैं स्मरण गरिनुपर्ने बताउनुभयो ।
आजको दिन नेपाली शहीदहरूको अदम्य साहस र बलिदानलाई स्मरण गर्दै देशभर गर्वका साथ मनाइएको छ । यस अवसरमा प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले शहीद स्मारकमा पुगेर ज्ञात तथा अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।









