अभिलाष गुप्ता
वीरगंज, १४ माघ
प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीन खेल सम्पन्न भएका छन्। सबै खेल १५–१५ ओभरमा आधारित थिए।
छैठौं दिनको पहिलो खेलमा मनकामना माध्यमिक विद्यालयले बिरगंज पब्लिक स्कूललाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको मनकामनाले ७ विकेटको क्षतिमा १४६ रन बनायो। जवाफमा बिरगंज पब्लिक स्कूल ७ विकेट गुमाउँदै जम्मा ४८ रनमै सीमित भयो। मनकामनाका अबुबक्कर समानी म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा ओम नेशनल स्कुलले जीवन ज्योति माध्यमिक विद्यालयलाई १५ रनले हरायो। ओम नेशनलले सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो। १०१ रनको लक्ष्य पछ्याएको जीवन ज्योति ८५ रनमै अलआउट भयो। ओम नेशनलका अरविन्द कुमार साह म्यान अफ द म्याच बने।
छैठौं दिनको अन्तिम खेलमा एमईएसले फुर्कान एकेडेमीलाई ५० रनले पराजित गर्यो। एमईएसले ६ विकेटको क्षतिमा १०५ रन बनायो भने फुर्कान एकेडेमी ९ विकेट गुमाउँदै ५५ रनमै रोकियो। एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए। आयोजकका अनुसार प्रतियोगिता दिनप्रतिदिन अझ रोमाञ्चक बन्दै गएको छ।
यसैबीच, प्याब्सनको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन चार खेल सम्पन्न भएका छन्। ती खेलपछि एसआर ग्यालेक्सी, मुनलाईट विद्यालय, बिकन माध्यमिक विद्यालय र ठोरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।
पहिलो खेलमा एसआर ग्यालेक्सीले गुरुकुल विद्यालयलाई ३–० गोलले पराजित गर्यो। उक्त खेलमा आलोक गिरी म्यान अफ द म्याच बने।
दोस्रो खेलमा मुनलाईट विद्यालयले सफल एकेडेमीलाई २–० गोलले हरायो। प्रणव पण्डित उत्कृष्ट खेलाडी घोषित भए।
तेस्रो खेलमा ठोरी एकेडेमीले नवदीप एकेडेमीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो। सागर पन्त म्यान अफ द म्याच बने।
पाँचौं दिनको अन्तिम खेलमा बिकन माध्यमिक विद्यालयले साउथ जोन विद्यालयलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। उक्त खेलमा अंश चौधरी म्यान अफ द म्याच घोषित भए।
आयोजकका अनुसार आगामी खेलहरूमा अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू हेर्न पाइने अपेक्षा गरिएको छ।









