वीरगंजमा तीनदिने मधेस साहित्य महोत्सव माघ १५ देखि, सम्पूर्ण तयारी पूरा

 

वीरगंज /१३ माघ

उत्कर्ष नेपालद्वारा आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव माघ १५, १६ र १७ गते वीरगञ्जस्थित मधेस विश्वविद्यालयको प्राङ्गणमा आयोजना हुने जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा जानकारी गराउँदै मधेस विश्वविद्यालयका प्राध्यापक तथा डा. दीपक शाक्यले यस वर्षको मधेस साहित्य महोत्सव अब एकदिने कार्यक्रम मात्र नभई तीनदिने निरन्तर कार्यक्रमका रूपमा सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार महोत्सवलाई मधेसका विविध पहिचान, भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्दै साझा सांस्कृतिक आन्दोलनका रूपमा स्थापित गर्ने उद्देश्य लिइएको छ।

डा. शाक्यले महोत्सवको पहिलो संस्करणमा वीरगञ्जमा देखिएको उल्लेखनीय सहभागिता, सकारात्मक ऊर्जा र सार्वजनिक स्वामित्वले यसलाई अझ विस्तार गर्ने प्रेरणा दिएको बताए। यसपटक साहित्यिक संवादसँगै समुदायका भाषा, संस्कृति, भेषभूषा र कलालाई समेत समेटिने जानकारी दिइएको छ।

आयोजकका अनुसार महोत्सवको उद्घाटन समारोह वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख तथा संरक्षक राजेशमान सिंहको अध्यक्षता तथा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।

महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सत्रहरूमा गाउँका युवा, पलायन र विकल्प, गाउँ, लोकतन्त्र र सत्ता तथा गाउँ स्मृति र इतिहास जस्ता विषयमा विज्ञ वक्ताहरूले आ–आफ्ना धारणा राख्नेछन्। दोस्रो दिन शिक्षा, स्वास्थ्य र समानता, गाउँ सङ्घर्ष र संरचना, गाउँ विकास र विनाश तथा गाउँका खबर विषयमा छलफल हुने छ। तेस्रो दिन गाउँ बन्दै सहर र सहर बन्दै गाउँ तथा भोजपुरी साहित्यमा गाउँसम्बन्धी विषयमा विशेष सत्रहरू आयोजना गरिने आयोजकले जनाएको छ।

महोत्सवको समापन समारोह प्रदेश प्रमुख सुरेन्द्र लाभकर्ण तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको सभापतित्वमा सम्पन्न हुने छ। समापन अवसरमा कल्पना पटवारीसहित स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने जानकारी आयोजकले दिएको छ।

पत्रकार सम्मेलनमा साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सलमा खातुनले गर्नुभएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित