अभिलाष गुप्ता
वीरगंज, १२ माघ
लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
वीरगंज महानगरपालिकाका विभिन्न पाँच स्थान—छपकैया वडा नं. १ स्थित छठघाट, जसौली वडा नं. २७, गहवा वडा नं. ८ को दलित बस्ती, सिरिसिया वडा नं. २१ को दलित बस्ती तथा मुर्ली वडा नं. १२—मा सञ्चालन गरिएको छनोट शिविरबाट पहिचान गरिएका १५१ जना बिरामीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको हो।
कार्यक्रम लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाका संयोजक जीवन निरौलाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा शाखा प्रबन्धक रोहिणी आचार्य तथा प्रदेश कार्यालयका प्रतिनिधि संजय यादवको विशेष उपस्थिति रहेको थियो। शल्यक्रियाका लागि प्राविधिक सहयोग बिरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी तथा उहाँको चिकित्सक टोलीले प्रदान गरेका थिए।
कार्यक्रमका अवसरमा बैंकका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यस पहलले दृष्टिविहीनताको जोखिममा रहेका नागरिकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।









