वीरगंज, ०९ माघ
सशस्त्र प्रहरी बल नेपाल देशको सुरक्षा, अनुशासन र समर्पणको प्रतीकका रूपमा स्थापित एक महत्वपूर्ण सुरक्षा निकाय हो। यसै गौरवमय यात्राको २५ वर्ष पूरा भएको अवसरमा पर्सा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणमा २५औँ रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोह बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रम सशस्त्र प्रहरी बल नं. १३ गणका गणपति पुरण चन्द भट्टको अध्यक्षतामा आयोजना गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, हरि गौतम, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत लोकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा राष्ट्रसेवामा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले सशस्त्र प्रहरी बलले नागरिकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिनुभयो।

अध्यक्षीय मन्तव्यका क्रममा गणपति पुरण चन्द भट्टले सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रामा आइपरेका चुनौतीहरू र हासिल गरिएका उपलब्धिहरूको चर्चा गर्नुभयो। उहाँले आगामी दिनमा अझ व्यावसायिक, अनुशासित तथा जनमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रजत जयन्ती समारोहको अवसरमा विगत २५ वर्षदेखि राष्ट्रसेवामा समर्पित जुनियरदेखि सिनियर तहसम्मका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू तथा वीर सहिदहरूको अमूल्य योगदानको स्मरण गर्दै हार्दिक बधाई तथा सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रमले सशस्त्र प्रहरी परिवारप्रति सम्मान, गर्व र प्रेरणाको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।









