निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्न राष्ट्रिय बाल अधिकार परिषद्को आग्रह

 

८ माघ २०८२, बिहीबार

 

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग हुन नदिन सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेको छ । परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बालबालिकाको अधिकारको संरक्षण सुनिश्चित गर्न आग्रहसहित विज्ञप्ति जारी गरेको हो ।

 

परिषद्का अनुसार निर्वाचन सुरु हुनुअघि, निर्वाचनको दिन तथा निर्वाचन सम्पन्न भएपछि हुने कुनै पनि राजनीतिक गतिविधि, कार्यक्रम वा उत्सवमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने वातावरण निर्माण गर्नु आवश्यक छ । बालबालिकाको हकहित, संरक्षण, संवर्द्धन र सम्मान सुनिश्चित गर्नु राज्य तथा सरोकारवाला सबैको साझा दायित्व भएको परिषद्ले स्पष्ट पारेको छ ।

 

विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसार, आमसभा, कोणसभा, जुलुस, अभियान, बैठक तथा विजयोत्सवजस्ता गतिविधिमा राजनीतिक दल, तिनका भ्रातृ संगठन तथा उम्मेदवारहरूले बालबालिकालाई प्रयोग नगर्न विशेष जोड दिइएको छ ।

 

परिषद्ले विद्यमान बालबालिका सम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०८२ अनुसार १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी गतिविधिमा सहभागी गराउन निषेध गरिएको स्मरण गराएको छ । साथै बालबालिकालाई राजनीतिक दल, संगठन वा समूहमा संगठित गर्न पनि कानुनले रोक लगाएको उल्लेख गरिएको छ ।

 

निर्वाचनलाई बालमैत्री र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षले कानुन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा परिषद्ले जोड दिएको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित