प्याब्सन पर्साद्वारा स्तरीय टि–२० क्रिकेट र जुनियर फुटबल प्रतियोगिता २०८२ आयोजना हुने

 

वीरगंज, ०७ माघ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्सा जिल्ला कार्यसमितिको आयोजनामा प्याब्सन पर्सा स्तरीय टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता २०८२ सञ्चालन हुने भएको छ।

 

आयोजक प्याब्सन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, टि–२० नकआउट क्रिकेट प्रतियोगिता माघ ८ गतेदेखि २४ गतेसम्म बिरगञ्जस्थित टी.भी. साह क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका ४० विद्यालयको सहभागिता रहनेछ।

 

त्यसैगरी, २१ विद्यालय सहभागी हुने जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि १७ गतेसम्म मधेश प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा आयोजना गरिनेछ।

 

खेलकुदलाई केवल मनोरञ्जनको साधनमा सीमित नराखी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणको आधार बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्याब्सन पर्साले जनाएको छ। विद्यालयस्तरका प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, उनीहरूलाई व्यावसायिक खेलतर्फ प्रेरित गर्नु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुर्‍याउनु प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ।

 

यसअघि प्याब्सन पर्सा तथा अन्य सरोकारवाला संस्थाहरूको आयोजनामा सम्पन्न प्रतियोगिताहरूबाट पर्सा जिल्लाले उल्लेखनीय उपलब्धि हासिल गरेको आयोजकको भनाइ छ। क्रिकेटतर्फ नेपाल राष्ट्रिय टोलीमा आरिफ शेख र आशिफ शेख, अन्डर–१९ राष्ट्रिय टोलीमा चन्दन रामजस्ता खेलाडीहरू स्थापित भइसकेका छन्। फुटबलतर्फ पनि जिल्लाबाट थुप्रै प्रतिभाशाली खेलाडीहरू राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन्।

 

क्रिकेटतर्फ दशौँ संस्करणमा प्रवेश गरिसकेको यस प्रतियोगिताले निरन्तरता, विश्वास र सफलताको प्रतीकका रूपमा आफूलाई स्थापित गरिसकेको आयोजकको दाबी छ। हरेक वर्ष विद्यालयहरूको सहभागिता, दर्शकको आकर्षण तथा प्रतिस्पर्धात्मक स्तरमा वृद्धि हुँदै गएको छ। त्यसैगरी, हरेक वर्ष आयोजना हुँदै आएको जुनियर फुटबल प्रतियोगिताले आधारभूत तहका विद्यार्थीहरूमा फुटबलप्रति आकर्षण बढाउँदै लगेको आयोजकले जनाएको छ।

 

प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेल भावना, अनुशासन, आपसी सद्भाव, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धी संस्कृतिको विकास गराउने उद्देश्यसमेत राखिएको छ। साथै सामाजिक एकता र सकारात्मक सोच प्रवर्द्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

 

यसैबीच, क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न ३० भन्दा बढी विद्यालयको सहभागितामा मार्चपास प्रदर्शन आयोजना गरिने जानकारी दिइएको छ। मार्चपासको निष्पक्ष तथा प्राविधिक मूल्याङ्कनका लागि विज्ञ टोली परिचालन गरिनेछ।

 

पत्रकार सम्मेलनमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह, केन्द्रीय सदस्य छेडुप लामा, नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, सुशील केसी, श्याम केसीलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित