६ माघ /वीरगंज
वीरगंज स्थित कावेरी एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ९ र १० का ८० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा दैनिक जीवनमा ट्राफिक नियमको महत्व, सडक सुरक्षा, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
प्रहरी निरीक्षक कटवालले ट्राफिक नियम केवल जरिवानाबाट बच्नका लागि नभई आफ्नो तथा अरूको ज्यान सुरक्षाका लागि अनिवार्य भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार सडक प्रयोगकर्ता बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अभिमन्यु झाले गर्नुभएको थियो। आयोजकका अनुसार कार्यक्रम सफल बनाउन संस्थाका सक्रिय सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रमको अन्त्यमा आयोजक पक्षले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साप्रति आभार व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन र सुरक्षित ट्राफिक संस्कृतिको विकास गर्ने विश्वास व्यक्त गरेको छ। विद्यालय प्रशासनले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









