अभिलाष गुप्ता
वीरगञ्ज, ०४ माघ
बीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडेमी स्कुलको १३औँ वार्षिक उत्सवको अवसरमा हिजोदेखि सञ्चालन गरिएको दुईदिने सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नवदिप एकेडेमी स्कुलकी सञ्चालिका एवं प्रिन्सिपल सुशीला शाहको सभापतित्व तथा बीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यतामा उक्त वार्षिक उत्सव समारोह सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामिछानेले नवदिप एकेडेमी स्कुलले यसै वर्षबाट माध्यमिक तहको अध्यापन अनुमति प्राप्त गर्नु विद्यालयका लागि गर्वको विषय भएको उल्लेख गर्दै सम्पूर्ण विद्यालय परिवारलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले कम समयमा नै नवदिप स्कुलले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै यसले पर्सा जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो।
वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको दुईदिने सांस्कृतिक कार्यक्रम, नृत्य तथा विभिन्न अतिरिक्त क्रियाकलापहरूले बालबालिकामा लुकेको प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको प्रमुख अतिथि लामिछानेले बताउनुभयो। “यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउँछ,” उहाँले भन्नुभयो।
उहाँले निजी विद्यालय र वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पर्सा जिल्लालाई शैक्षिक रूपमा अझ सक्षम बनाउनु आजको आवश्यकता भएको बताउनुभयो।
लामिछानेले वार्षिक उत्सवजस्ता कार्यक्रममार्फत विद्यालयले वर्षभरि सञ्चालन गरेका शैक्षिक तथा अतिरिक्त गतिविधिहरू अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने अवसर मिल्ने भएकाले आफ्ना नानीहरू कुन किसिमको विद्यालयमा अध्ययन गरिरहेका छन् भन्ने जानकारी पाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
उक्त अवसरमा प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, प्याप्सन मधेस प्रदेश सल्लाहकार इमामुद्दिन अहमद, प्याप्सनका पूर्व जिल्ला अध्यक्ष तथा हिसान जिल्ला उपाध्यक्ष आलोक चौरासिया, प्याप्सन महानगर सचिव अमित आलोक, प्याप्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय, पूर्व सचिव सन्ने पाख्रीन, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव लगायतका वक्ताहरूले विद्यार्थीहरूले प्रस्तुत गरेका उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरूको प्रशंसा गर्दै विद्यालय परिवार तथा शिक्षक–शिक्षिकाहरूलाई धन्यवाद एवं शुभकामना व्यक्त गर्नुभएको थियो।
वार्षिक उत्सव समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, प्रस्तुति तथा कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए, जसले उपस्थित अभिभावक तथा अतिथिहरूलाई निकै प्रभावित बनाएको थियो।









