रन्धिर साह
माघ /३ रौतहट
रौतहटको मौलापुर नगरपालिकामा आज कानु हलुवाई जागरण तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा कानु समाजको एकता, पहिचान र सामाजिक चेतनालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देश–विदेशबाट विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कानु समाजका अग्रज नेता राजकुमार साह कानु रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा छिमेकी राष्ट्र भारतको बिहार प्रदेशकी माननीय बिधायिका छोटी कुमारी साह कानु सहभागी हुनुभएको थियो। साथै भारतका विभिन्न सांसद प्रतिनिधि, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानु तथा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु तथा बारा, पर्सा, सप्तरी, धनुषा, सिरहा, सर्लाहीको गरिमामय पदमा रहेका कानु समाजका व्यक्तिहरुको समेत गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा कानु समाज रौतहट जिल्ला अध्यक्ष सरफलाल साह कानुको अध्यक्षतामा संचालन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन (उद्घोषण) दिनदयाल साह कानुले गर्नुभएको थियो। कार्यक्रममा कानु समाज समितिका विभिन्न पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी तथा देशभरिका कानु समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले कानु समाजको ऐतिहासिक योगदान, सामाजिक एकता, शिक्षा, चेतना र अधिकारका विषयमा जोड दिँदै यस्ता जागरण तथा सम्मान कार्यक्रमहरूले समाजलाई संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो।

समग्रमा, मौलापुर नगरपालिकामा सम्पन्न यो कानु हलुवाई जागरण तथा सम्मान समारोह कानु समाजको एकता, पहिचान र भावी दिशालाई स्पष्ट पार्ने ऐतिहासिक तथा प्रेरणादायी कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न भएको सहभागीहरूले बताएका छन्।









