वीरगञ्ज — विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी एकता विकास गर्ने उद्देश्यले डी.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जले चौथो संस्करणको “शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ। स्वर्गीय श्री शंकरलाल केडियाको ९०औँ जन्मजयन्तीको स्मृतिमा हुन लागेको यस प्रतियोगितामा वीरगञ्जका १४ वटा विद्यालय सहभागी हुनेछन्।
विद्यालय प्रशासनका अनुसार प्रतियोगिताको उद्घाटन माघ २ गते हुने छ भने समापन माघ १० गते गरिनेछ। प्रतियोगिता प्रत्येक दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै नयाँ तथा प्रतिभावान खेलाडीहरूको पहिचान र प्रोत्साहनमा समेत सहयोग पुग्नेछ।
“यस प्रकारका खेलकुद गतिविधिले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धा, नेतृत्व क्षमता र अनुशासन सिकाउन मद्दत गर्छ,” प्रधानाध्यापक मिश्रले भन्नुभयो। विभिन्न विद्यालयहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने उहाँको विश्वास छ।
विद्यालयले खेलप्रेमी विद्यार्थी, अभिभावक तथा खेलकुदप्रेमीहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।









