लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा ‘सानो पाइला’ संस्थालाई न्यानो कपडा वितरण

 

अभिलाष गुप्ता

वीरगंज/ ०१ माघ

 

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत वीरगञ्जस्थित ‘सानो पाइला’ नामक सामाजिक संस्थालाई न्यानो कपडाहरू हस्तान्तरण गरिएको हो।

 

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सुशिला साहले गर्नुभएको थियो। कार्यक्रममा लायन कबिता क्षेत्री, लायन देवन्ती शाहलगायत क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले चिसो मौसममा असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिका र व्यक्तिहरूलाई न्यानो कपडाको सहयोगले जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि समाजसेवामूलक यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

 

‘सानो पाइला’ संस्थाका प्रतिनिधिहरूले लायन्स क्लबप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले संस्थामा आश्रित बालबालिका तथा सेवाग्राहीहरूलाई ठूलो राहत मिल्ने बताए। कार्यक्रमले समाजमा सहयोग, करुणा र सहकार्यको सन्देश फैलाएको सहभागीहरूको भनाइ थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित