नीति र नेतृत्व सही भए मात्र संस्था सफल हुन्छ : प्रदेशसभा सदस्य महतो 

 

गौशाला, पुस ३० गते ।

मधेस प्रदेशसभा सदस्य हरिनारायण महतोले नीति र नेतृत्व सही भए मात्र कुनै पनि संस्था सफल हुन सक्ने बताएका छन् । बिहीबार धनुषाको लालगढमा रहेको गाैतम हाेटलकाे सभाहलमा आयोजित मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले संस्थाको सुदृढ नीति र सक्षम नेतृत्वकै कारण आज यसको अवस्था सन्तोषजनक रहेको बताए । उहाँले लघुवित्त संस्थाहरूले समाजमा अनुशासन, बचत संस्कार र आर्थिक आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

महतोका अनुसार यस्ता लघुवित्त संस्थाले महिलाहरूलाई सशक्त बनाउनुका साथै बचत गर्ने बानी विकास गराएको छ । बचतको माध्यमबाट बालबालिकाको शिक्षामा सहयोग पुगेको र साना व्यवसाय सञ्चालन गर्न समेत सहज भएको उहाँले बताए । “पहिला बिना धितो ऋण पाउन कठिन थियो, तर अहिले लघुवित्त संस्थाहरुले सहज रूपमा ऋण उपलब्ध गराएर आर्थिक गतिविधिमा टेवा पुर्‍याएका छन्,” उहाँले भने ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हाल मधेस प्रदेशका आठवटै जिल्लामा ४५ वटा शाखा सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार संस्थामा हाल ४१ हजार ५ सय ५३ जना सदस्य आबद्ध छन् ।

संस्था वि.सं. २०६५ मंसिर ८ गते धनुषाको मिथिला नगरपालिका – ६ स्थित ढल्केबरमा ३३ जना सदस्य गठन गरि १ करोड ६५ लाख रुपैयाँ शेयर पूँजीबाट केन्द्रीय कार्यालयकाे स्थापना भएको थियो । हाल संस्थामा ७० जना प्रमोटर शेयर सदस्य र १३ हजार ६७ जना पब्लिक शेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल शेयर पूँजी २२ करोड ३९ लाख ३३ हजार १ सय ४८ रुपैयाँ २३ पैसा पुगेको छ । त्यसैगरी बचत रकम १ अर्ब १८ करोड ८५ लाख ८८ हजार रुपैयाँ र ऋण लगानी २ अर्ब ८८ करोड ३५ लाख ६५ हजार रुपैयाँ पुगेको र चालु आर्थिक वर्ष २०८२ असार मसान्तसम्म ७ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन भएको राउतले बताए ।

साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष मनोज कुमार दासले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि संस्थापक सदस्य तथा ऋदिसिदि सहकारीका अध्यक्ष रामलाल महतो, नायब प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र, सञ्चालकहरू दिनेश राय, विजय कुमार साहु तेली, पूजा कुमारी, विनोद कुमार साह, प्रशान्त सुवेदी, कम्पनी सचिव हेमराज हेमन्तसहित संस्थाका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित