निर्वाचन आयोगद्वारा पर्सिबाट निर्वाचन अधिकृतको कार्यालय सञ्चालन, कर्मचारी खटाइँदै

 

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले पर्सिदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।

 

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी मनोनयन ६ माघमा हुने भएकाले त्यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोली कर्मचारी खटाउने तयारी गरिएको हो। आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले २ माघदेखि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने जानकारी दिएकी छन्।

 

आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइनेछ।

 

जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नाम टुंगो लगाएको हो।

 

निर्वाचन अधिकृतहरूका लागि २८ र २९ पुसमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ। काठमाडौँ, विराटनगर, चितवन र नेपालगञ्ज गरी चार स्थानमा प्रशिक्षण आयोजना गरिएको थियो। उम्मेदवारी मनोनयनदेखि मतदान, मतगणना तथा निर्वाचन परिणाम घोषणा गर्नेसम्मको सम्पूर्ण जिम्मेवारी निर्वाचन अधिकृतहरूको हुनेछ।

 

निर्वाचन अधिकृतको कार्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति सम्बन्धित जिल्लास्थित सरकारी कार्यालयहरूबाट काजमा ल्याइने आयोगले जनाएको छ।

 

सम्बन्धित