वीरगंज। २५ वर्षदेखि अपाङ्ग, दलित तथा भूमिहीन समुदायका हक–अधिकार र समस्या समाधानका लागि निरन्तर संघर्ष गर्दै आएका सामाजिक अभियन्ता बिजय पासवान जनमत पार्टीको समानुपातिकतर्फको बन्द सूचीमा पर्न सफल भएका छन्।
समानुपातिक प्रणालीमार्फत सांसद बनेपछि अपाङ्गता भएका व्यक्तिहरूका समस्या प्राथमिकताका साथ समाधान गरिने पासवानले बताएका छन्। उनका अनुसार सांसद बनेको पहिलो तीन महिनाभित्र अपाङ्ग समुदायका लागि उपलब्ध सेवा–सुविधामा वृद्धि गरिनेछ भने रोजगारीका अवसर सिर्जना गर्न विशेष पहल गरिनेछ।
त्यसैगरी दलित, गरिब तथा भूमिहीन समुदायका दीर्घकालीन समस्याको समाधानका लागि सधैं सहयोग र सहकार्य गरिने उनको भनाइ छ। सामाजिक न्याय, समानता र समावेशी विकासको पक्षमा लामो समयदेखि क्रियाशील पासवानले संसद्मा पुगेर यी समुदायका आवाज बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक क्षेत्रमा लामो योगदान दिएका पासवानको समानुपातिक बन्द सूचीमा समावेशीकरणलाई सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्।









